कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर फर्किए अर्थमन्त्री वाग्ले

४४ अतिकम विकसित राष्ट्रका तर्फबाट सम्बोधन, जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहकार्य बढाउने प्रतिबद्धता

पुष्पा तामाङ
पुष्पा तामाङ
Read this article also in :English हिन्दी
गाढा रङको कोट र चस्मा लगाएर सोफामा बसेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले।

जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता मुलुकका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग बढाउने विषयमा विभिन्न तहमा छलफल गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्। टर्किएमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर उनी आइतबार फर्किएका हुन्।

सम्मेलनमा वाग्लेले जलवायु परिवर्तनको जोखिम सामना गरिरहेका अतिकम विकसित मुलुकहरूको वित्तीय पहुँच र विपद्पछिको आर्थिक पुनरुत्थानलाई प्राथमिकताका साथ उठाएका थिए।

विज्ञापन
khoj2

अर्थमन्त्रीको सचिवालयका अनुसार उनले ४४ अतिकम विकसित राष्ट्रको प्रतिनिधित्व गर्दै जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए। जलवायु संकटको असर कम गर्न आवश्यक स्रोत जुटाउने र जोखिममा रहेका मुलुकसम्म वित्तीय सहयोग पुर्‍याउने विषयमा उनले नेपालको धारणा प्रस्तुत गरेका थिए।

सम्मेलनकै क्रममा नेपाल जलवायु मुद्दामा सक्रिय अर्थमन्त्रीहरूको अन्तर्राष्ट्रिय गठबन्धनको १०५औँ सदस्य बनेको छ। सात वर्षअघि स्थापना भएको उक्त गठबन्धनमा नेपालको सहभागितासँगै अर्थमन्त्री वाग्लेले जलवायु उत्थानशीलताका लागि वित्तीय व्यवस्थासम्बन्धी नीतिगत अवधारणा पनि छलफलमा अघि सारेका छन्।

जलवायुजन्य विपद्पछि ऋणको बोझ कम गर्ने अन्तर्राष्ट्रिय अभियान चलाउँदै आएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्लीसँग समेत वाग्लेको भेट भएको थियो। बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसँगको भेटमा पनि जलवायु वित्तका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

ती भेटवार्तामा नेपालजस्ता जोखिममा रहेका मुलुकलाई सहयोग पुर्‍याउने विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको सचिवालयको भनाइ छ।

वाग्लेले सम्मेलनमा विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायका पाँच प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए। बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र संयुक्त राष्ट्रसंघका महासचिवका दूत सेल्विन हार्टसँग नेपालको जलवायु प्राथमिकतामा सहयोग जुटाउने विषयमा कुराकानी भएको थियो।

यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग नेपालमा सञ्चालन गर्न सकिने आगामी कार्यक्रमबारे छलफल भएको छ। अर्थमन्त्री वाग्लेले विश्व मौसम विज्ञान संगठनको जलवायु मापनसम्बन्धी कोषको कार्यक्रममा पनि सम्बोधन गरेका थिए। उक्त कार्यक्रमबाट नेपालले समेत लाभ लिँदै आएको छ।

सम्मेलनका क्रममा उनले जलवायु विज्ञानका विज्ञ प्राध्यापक योहान रक्स्ट्रम र जलवायु अर्थशास्त्री प्राध्यापक निकोलस स्टर्नसँग पनि भेटघाट गरेका थिए।

वाग्लेले अमेरिकी पत्रिका न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएको तथा टाइम पत्रिकाले सन् २०२६ का लागि चयन गरेका जलवायु क्षेत्रका विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा सहभागिता जनाएको सचिवालयले उल्लेख गरेको छ।

जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् र त्यसबाट हुने आर्थिक क्षतिको जोखिम सामना गरिरहेको नेपालका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग महत्त्वपूर्ण छ। कोप–३१ मा भएका छलफल र प्राप्त प्रतिबद्धतालाई ठोस कार्यक्रम तथा वित्तीय स्रोतमा रूपान्तरण गर्नु अबको प्रमुख चुनौती हुनेछ।