सरकारले ल्यायो जलन उपचारको नयाँ मापदण्ड, देशभर चार तहमा सेवा
जलनका बिरामीले देशभर समान मापदण्डअनुसार उपचार पाउने गरी सरकारले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ। मापदण्डमा सामान्य प्राथमिक उपचारदेखि विशेषज्ञ सेवा, रेफरल, पुनर्स्थापना र स्वास्थ्यकर्मीको तालिमसम्म समेटिएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत उपचारात्मक सेवा महाशाखाले तयार गरेको मापदण्डले जलन उपचारलाई चार तहमा विभाजन गरेको छ। लेभल–१ मा आधारभूत, लेभल–२ मा सामान्य, लेभल–३ मा विशेषज्ञ र लेभल–४ मा सुपर–विशेषज्ञ जलन सेवा रहनेछ।
विशेषज्ञ उपचार केन्द्र पुग्न दुई घण्टाभन्दा बढी लाग्ने ठाउँका स्थानीय अस्पतालले जलनका बिरामीलाई कम्तीमा प्रारम्भिक २४ घण्टासम्म पुनर्जीवन उपचार दिन सक्ने क्षमता विकास गर्नुपर्ने व्यवस्था गरिएको छ। स्थानीय तहका स्वास्थ्यकर्मीलाई प्राथमिक उपचार, तरल पदार्थ व्यवस्थापन, पीडा नियन्त्रण, घाउको हेरचाह र आवश्यक रेफरलबारे तालिम दिनुपर्नेछ।
मापदण्डले जलन भएको भागलाई सम्भव भएसम्म चिसो बगिरहेको पानीले ३० मिनेटसम्म चिस्याएर सफा कपडा वा ड्रेसिङले छोप्न सुझाएको छ। टुथपेस्ट, माटो, घिउ, तेल, बटर, जडीबुटीको लेप तथा बरफ प्रयोग नगर्न स्पष्ट निर्देशन दिइएको छ।
त्यस्तै, जलनका सबै बिरामीलाई नियमित रूपमा एन्टिबायोटिक दिन नहुने उल्लेख छ। संक्रमणको स्पष्ट प्रमाण देखिएपछि चिकित्सकीय मूल्यांकनका आधारमा मात्रै यसको प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था गरिएको छ।
सरकारले नयाँ मापदण्डमार्फत बिरामीको अवस्था पहिचानदेखि विशेषज्ञ उपचार र समयमै रेफरलसम्मको प्रणाली व्यवस्थित गर्दै देशभर जलन उपचारको गुणस्तरमा एकरूपता ल्याउने लक्ष्य राखेको छ।

