सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट, सहकार्यमा जोड
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले चिनियाँ प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट गरेका छन्। भेटमा दुई देशबीचको परम्परागत सम्बन्धसँगै संसदीय सहकार्य, विकास साझेदारी, विपद् व्यवस्थापन र आपसी अनुभव आदानप्रदानलाई थप विस्तार गर्ने विषयले प्राथमिकता पाएको छ।
चिनियाँ प्रतिनिधिमण्डलसँगको संवादमा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध पारस्परिक सम्मान, असल छिमेकीपन र पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताए। नेपालको ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता दोहोर्याउँदै उनले नेपाली भूमि चीनविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिमा प्रयोग हुन नदिने नेपालको स्पष्ट नीति रहेको उल्लेख गरे।
नेपाललाई भू–परिवेष्टित अवस्थाबाट भू–जडित मुलुकका रूपमा विकास गर्ने प्रयासमा चीनबाट प्राप्त सहयोगको चर्चा गर्दै अर्यालले द्विपक्षीय विकास साझेदारीलाई आगामी दिनमा अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे। नेपालमा चिनियाँ सहयोगमा सञ्चालित विकास आयोजना र लगानीप्रति उनले धन्यवादसमेत व्यक्त गरे।
भेटमा पछिल्लो समय रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोको प्रसंग पनि उठेको थियो। विपद्मा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सभामुख अर्यालले बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गरे।
उक्त विपद्का बेला चीनबाट प्राप्त आपत्कालीन आर्थिक तथा मानवीय सहयोगको उनले प्रशंसा गरे। खोज तथा उद्धारमा परिचालित सुरुङ उद्धार टोली, फरेन्सिक तथा डीएनए विशेषज्ञ, ड्रोनलगायतका प्राविधिक सहयोगले कठिन परिस्थितिमा महत्त्वपूर्ण साथ दिएको भन्दै उनले चीन सरकारप्रति आभार व्यक्त गरे।
दुई देशका संसद्बीचको सम्बन्धलाई संस्थागत रूपमा थप बलियो बनाउने विषय पनि भेटको प्रमुख एजेन्डा बनेको थियो। नेपाल र चीनबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधि सभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच अन्तर–संसदीय सहकार्यसम्बन्धी समझदारीले नियमित संवाद र अनुभव आदानप्रदानलाई थप सहज बनाउने विश्वास सभामुख अर्यालले व्यक्त गरे।
उनले आईपीयूको एसिया–प्रशान्त समूहभित्र समेत नेपाल र चीनका संसद्ले सहकार्य बढाउन सक्ने बताए। विशेषगरी दिगो विकास, जलवायु परिवर्तन, विपद् उत्थानशीलता तथा संसदीय कामकारबाहीमा प्रविधिको प्रयोगजस्ता साझा चासोका क्षेत्रमा अनुभव र अभ्यास आदानप्रदान गर्न सकिने उनको भनाइ थियो।
नेपालले संसदीय क्षमता अभिवृद्धि र दिगो विकासका क्षेत्रमा चीनसँगको सहकार्यलाई थप विस्तार गर्न चाहेको उल्लेख गर्दै अर्यालले द्विपक्षीय सम्बन्धलाई संसदीय तहमा पनि परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
सभामुख अर्यालले आगामी दिनमा नेपाल–चीन सहकार्यलाई विकास आयोजनामा मात्र सीमित नराखी व्यापार, लगानी तथा जनस्तरीय र सांस्कृतिक सम्बन्धमा समेत विस्तार गर्नुपर्ने धारणा राखे। दुई मुलुकबीच विद्यमान मित्रतालाई बदलिँदो आवश्यकता र साझा हितअनुसार थप मजबुत बनाउँदै लैजान सकिने विश्वास उनले व्यक्त गरे।

