नेपाली सेनाले ३२ जिल्लाका ब्यारेकमा डीडीसीकै दूध किन्ने

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
नेपाली सेनाले ३२ जिल्लाका ब्यारेकमा डीडीसीकै दूध किन्ने

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्नो दूध तथा दुग्धजन्य उत्पादनको ठूलो परिमाणका लागि नियमित बजार सुनिश्चित गरेको छ। नेपाली सेनासँग भएको नयाँ खरिद सम्झौतापछि देशका ३२ जिल्लामा रहेका सैनिक ब्यारेकमा आवश्यक प्रशोधित दूधसहितका दुग्धजन्य पदार्थ डीडीसीले आपूर्ति गर्ने भएको हो।

सम्झौताअनुसार सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध पुग्नेछ। वर्षभरको हिसाब गर्दा यो परिमाण ३७ लाख ४१ हजार ५०६ लिटर हुन्छ।

विज्ञापन
khoj2

दूधसँगै दही, पनिर, होल मिल्क पाउडर र चिज पनि डीडीसीबाटै खरिद गर्ने व्यवस्था गरिएको छ। सेनालाई दैनिक ३६५ किलो दही उपलब्ध गराइनेछ, जसको वार्षिक परिमाण १ लाख ३३ हजार ५२२ किलो रहनेछ।

त्यस्तै दैनिक ३७ किलो पनिर आपूर्ति गर्ने सम्झौता भएको छ। यसको वार्षिक परिमाण १३ हजार २४० किलो हुनेछ। होल मिल्क पाउडर दैनिक २१ किलोका दरले वर्षमा ७ हजार ४४१ किलो तथा चिज दैनिक १५ किलोका दरले वार्षिक ५ हजार २७८ किलो आपूर्ति गरिनेछ।

ठूलो संस्थागत उपभोक्ताका रूपमा नेपाली सेनासँग भएको यो सम्झौताले डीडीसीका उत्पादनका लागि नियमित माग सिर्जना गर्ने देखिन्छ। ३२ जिल्लाका सैनिक ब्यारेकसम्म दैनिक रूपमा दूध तथा अन्य दुग्धजन्य पदार्थ पुर्‍याउनुपर्ने भएकाले सम्झौता बिक्रीसँगै आपूर्ति व्यवस्थापनका हिसाबले पनि महत्वपूर्ण छ।

खरिद सम्झौतामा नेपाली सेनाका तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र डीडीसीका तर्फबाट महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।